अमेरिकामा रहेने चार नेपालीमा कोरोना (कोभिड–१९) भाइरस पोजेटिब


काठमाडौँ, ११ चैत । अमेरिकामा रहेका चार नेपालीमा कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण भेटिएको छ ।

अमेरिकाको न्यूयोर्कका सङ्क्रमित दुई जनाको अलि बढी गम्भीर रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँले जानकारी गराएका छन् । सङ्क्रमितमध्ये तीन जना न्यूयोर्कको ज्याक्सन हाइट निवासी रहेको जनाइएको छ । अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन् ।

न्यु योर्क बसोबास गर्ने उनीहरूलाई तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

ज्याक्सन हाइटका तीन नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो । ती सबै पुरुष हुन् । बानियाँले जानकारी दिए, ‘तीमध्ये ४७ र ५० वर्षीयको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले बताएको छ ।’ न्यूयोर्ककै अर्का सङ्क्रमित ५५ वर्षीय पुरुषको अवस्था सामान्य रहेको बानियाँले जानकारी दिए । उनका अनुसार उपचाररत ४७ वर्षीय नेपाली पुरुष उबर चालक हुन् ।

५० वर्षीय नेपालीमा पाँच दिन अगाडि कोरोनाको सङ्क्रमण देखिएको थियो । उनमा कोरोना सङ्क्रमण देखिएपछि परिवारका सदस्यहरूको पनि स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरू रिपोर्ट पर्खँदै अहिले घरमै ‘सेल्फ आइसोलेसनमा’ रहेको पनि बानियाँले जानकारी गराए ।

भर्जिनियाकी ३८ वर्षीय नेपाली महिलामा दुई दिनअघि भाइरस पोजिट देखिएको हो । उनी फेयर फ्याक्सकी बासिन्दा हुन् । उनको अवस्था सामान्य रहेकाले चिकित्सकले घरमै सेल्फ क्वारेन्टाइन बस्न सुझाव दिएको बानियाँले बताएका छन् ।

अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमण फैलने क्रम तीव्र भइरहेको न्यु योर्क टाइम्सले लेखेको छ । कोरोना सङ्क्रमण देखिनेमा न्यु योर्क सहर अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्