लकडाउन उल्लंघन गरे ६ महिना कैद रु ६०० सम्म जरिवाना वा दुवै हुने


काठमाडौँ, ११ चैत । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम सरकारले देश नै ‘लकडाउन’ को घोषणा गरेको छ । उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको हो ।

लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ । सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरूलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

‘लकडाउन’ सँगै औषधि, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकाका सडकमा एकदमै कम मात्रामा सवारी साधन चलेको बताए । ‘लकडाउन गरेसँगै अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका छैनन्’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्