अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी ढङ्गले गर्न बेलवारी उद्योग वाणिज्य संघको अपिल


बेलवारी, ९ चैत्र / उद्योग वाणिज्य संघ बेलवारीले कारोना भाइरसको महामारीबाट सुरक्षित रहँदै अत्यावश्यक वस्तुको बिक्री वितरण पारदर्शी ढङ्गले गर्न उद्योगी व्यवसायीहरूमा अपिल गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणले विश्वभरीनै उद्योग व्यवसायमा असर गरिरहेको बताउँदै सङ्घले यस कठिन परिस्थितिमा सबै उद्योग व्यवसाय क्षेत्रले आ–आफ्नो ठाउँबाट भोलि आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी ढङ्गबाट निर्वाह गर्नुपर्ने वेला आएको तर्फ उद्योग वाणिज्य सङ्घ बेलवारीले सबै उद्योगी व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।

उद्योग वाणिज्य सङ्घले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ “अत्यन्त कठिन परिस्थितिमा पनि जिम्मेवारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको निजी क्षेत्रको विगत समेतलाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुहरू जस्तो मास्क, सेनिटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, बिक्री वितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढङ्गबाट गरी आम जनतालाई सेवा उद्योग वाणिज्य सङ्घ बेलवारीले आफ्ना सदस्य उद्योग प्रतिष्ठानहरू/उद्यमी व्यवसायीहरू सबैमा हार्दिक आव्हान गर्दछ ।

साथै कोरोना भाइरसको महामारीबाट व्यापार व्यवसाय क्षेत्रमा पर्न गएको नोक्सानी प्रति उद्योग वाणिज्य सङ्घ बेलवारीले गहिरो दुःख व्यक्त गरेको उद्योग वाणिज्य सङ्घ बेलवारीका महासचिव विवेक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्