बेलबारीमा सामाजिक विकास संयोजक, खेलकुदको अध्यक्ष बन्ने व्यवस्था (भिडियो सहित)


बेलबारी, ९ चैत / बेलबारीमा सामाजिक विकास नगर समितिको संयोजक नै नगर खेलकुद विकास समितिको अध्यक्ष हुने भएको छ । बेलबारी नगरपालिकाको पाँचौँ नगरसभाले खेलकुद ऐन पारित गरेसँगै सो व्यवस्था लागु हुने भएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीका अनुसार नगर खेलकुद विकास समितिमा १५ सदस्य समिति रहने छ । सामाजिक विकासका संयोजक नै अध्यक्ष हुने छ भने सदस्य सचिवमा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको प्रमुख रहने व्यवस्था रहेको प्रमुख सुवेदीले बताएका छन् । नगर खेलकुद समितिको संरक्षकको रूपमा नगर प्रमुख रहने व्यवस्था रहेको छ ।

सामाजिक विकास समिति, बेलबारीका संयोजक वाड नं. १ का अध्यक्ष चक्र खुलाल हुन भने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अधिकृत स्तर १० औँ भूपेन्द्र कोइराला हुन ।

प्रमुख ज्ञानेन्द्र सुवेदीका अनुसार उपाध्यक्ष महिला अनिवार्य रहने छ भने कार्यपालिकाबाट पनि एक जना महिला सहित दुई जनाको सदस्यता रहने नगर खेलकुद ऐनले व्यवस्था गरेको छ । विभिन्न खेल क्षेत्र विधामा रहने ८ जनामा आदिवासी, महिला, दलित, अल्पसङ्ख्या लगायत सबैको प्रतिनिधित्व रहने छ । ८ जनालाई कार्यपालिकाले मनोनयन गर्ने छ । १५ सदस्य समितिमा नगर प्रमुखको तर्फबाट महिला सहित ३ जना रहने व्यवस्था रहेको प्रमुख सुवेदीले जनाएका छन् ।

वाड स्तरको ५ सदस्य समिति पनि बन्ने प्रमुख सुवेदी बताए । उनका अनुसार वाड सदस्यको संयोजकत्वमा समिति बन्ने छ । वाड अध्यक्षबाट एक जना महिला सहित २ जना सो समितिमा राख्ने व्यवस्था रहेको छ । एउटा वाड एक खेललाई जोड दिएको प्रमुख सुवेदीले जनाएका छन् ।

खेलकुद ऐन अहिले परिपक्व भए पनि राजपत्रमा भने सार्वजनिक भइसकेको छैन । राजपत्रमा यही चैत १५ गते भित्र सार्वजनिक गरिसक्ने प्रमुख सुवेदीले जनाएका छन् ।

https://youtu.be/NPvcXMVuovI

प्रतिक्रिया दिनुहोस्