काठमाडौँ, ९ चैत । कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणको आशंकामा स्वास्थ्य परीक्षणका लागि बिरामी आउन थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जनशक्ति अभाव भएको छ ।
स्वास्थ्यकर्मीले अहिले बढिरहेको बिरामीको चापलाई धान्न नसक्ने देखिएपछि अस्पतालले करारमा जनशक्ति थप गर्ने तयारी गरेको छ । कोरोना भाइरस आशंकामा टेकु अस्पतालमा अहिले दैनिक सयांँ बिरामी चेक जाँचका लागि जाने गरेका छन् । अस्पतालले आज (आइतबार)का पत्रपत्रिकामा सूचना निकालेर बढीमा तीन महिनाका लागि करार सेवामा जनशक्ति लिन लागिएको जानकारी दिएको छ ।
सूचनामा पाँचांँ तहका स्टाफ नर्स २६ जना, सातौँ तहका नर्सिङ अधिकृत चार जना, आठौँ तहका मेडिकल अधिकृत आठ जना र नवौँ तहका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट ६ जना माग गरिएको छ ।