भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नेपाल आउनेको भिड


महेन्द्रनगर, ८ चैत । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलन थालेपछि रोजगारीमा गएका नेपालीहरू पश्चिमी नाका गड्डाचौकी हुँदै भित्रिने क्रममा घण्टौँसम्म लाइन बस्ने बाध्यता रहेको छ ।

सीमा नाकामा कोरोना जाँचका लागि हेल्थ डेस्क स्थापना भए पनि भारतबाट नेपाल आउनेहरूको भिड थामी नसक्नु गरी बढेको छ । उपकरण अभावका कारण सर्वसाधारणले घण्टौँसम्म लाइनमा बस्नु पर्ने बाध्यता देखिएको छ ।

बझाङका हरिप्रसाद बोहरा घर फर्कनका लागि शनिवार बिहान ६ बजेतिर पश्चिमी नाका गड्डाचौकी आइपुगेका थिए । सीमा नाकामा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँचपछि मात्रै नेपाल छिर्न पाइने भएकाले उनी लाइनमा बसे । ११ बजेसम्म पनि उनको पालो आएको थिएन । घर आउँदा बोकेर ल्याएका सामानसहित उनी र उनका साथीहरू झन्डै ६ घण्टा लाइनमा बसे स्वास्थ्य जाँचका लागि ।

डेस्कमा दुई वटा मात्रै थर्मो्मिटर भएका कारण चेक जाँचमा ढिलाइ भएको हो । ६–७ घण्टा पालो कुर्दा समेत कोरोना जाँच नभएपछि धेरैले लाइन छोडेर घर फर्किएको प्रत्यक्षदर्शी बताउँछन् । गड्डाचौकीबाट भित्रिएका दुई जनालाई कोरोना सङ्क्रमणको आशङ्कामा अस्पताल भर्ना गरिएको छ ।

शनिवार १२ बजेसम्म मात्रै साढे ११ हजारभन्दा बढी मानिस भित्रिएको हेल्थ डेस्कमा रहेकी अनमी निर्मला जोशीले जानकारी दिएकी छन् । हेल्थ डेस्क बिहान ५ बजेदेखि खुल्छ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकी बाहेकका सीमा नाका बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्