निर्भया सामूहिक बलात्कार काण्डका चारै जनालाई मृत्युदण्ड


काठमाडौँ, ७ चैत । दिल्लीमा २३ वर्षीय एक मेडिकल छात्रालाई सन् २०१२ मा भएको सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रवार बिहान मृत्युदण्ड दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई फाँसीमा झुन्ड्याएर मृत्युदण्ड दिइएको हो ।

दोषीहरूलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जीत भएको प्रतिक्रिया दिएकी छिन् । जेलका अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘चारै जनालाई एकैसाथ मृत्युदण्ड दिइयो ।’ दोषीहरूले मृत्युदण्ड पाइसकेपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरूका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरूले लामो समयसम्म पर्खन नपरोस् ।’

सात वर्षसम्म चलेको लामो कानुनी लडाइपछि दोषीहरूलाई सजाय दिइएको हो । यसअघि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको थियो ।
चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए । एक जना अपराधी, जो घटना हुँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधार गृह पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्