काठमाडौँ, २ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको अभिभावक सरकार भएकाले कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण देखिएमा त्यसको उपचारमा सरकारले हेर्ने बताएका छन् ।
स्वास्थ्यमन्त्री ढकालले यसअघि सञ्चार माध्यमहरूमा आएका आफ्नो अभिव्यक्तिको खण्डन समेत गरेका छन् । सङ्क्रमण देखिएकाहरूलाई सरकारले सुरक्षा दिने विषयमा दिएको अभिव्यक्तिको रक्षा गर्दै आफूले बताएको कुरालाई पत्रकारले समाचार लेख्दा अर्कै लेखिदिएको उनको गुनासो छ ।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले केही दिनअघि एक कार्यक्रममा आफूले जनता आफैँले कोरोनाको सङ्क्रमणबाट बच्न सचेत हुन आग्रह गरेको मात्रै बताए । कोरोना सङ्क्रमितलाई सरकारले हेर्दैन भनेको होइन,’ उनले भने, ‘सरकार अभिभावक हो सबैको सुरक्षा गर्छ ।’
स्वास्थ्यमन्त्री ढकालले मुलुकभर २ सय ३५ वटा आईसीयू र १ सय ५५ आईसोलेटेड बेड तत्काल व्यवस्था गर्न सरकार जुटिसकेको बताए । उनले भने, ‘हामीसँग करिब १ सय ७० आईसीयू सञ्चालनमा छन् । काठमाडौँ उपत्यकाभित्र १ सय २० र काठमाडौँ बाहिर १ सय १५ गरी २ सय ३५ आईसीयू तत्कालै व्यवस्था गर्ने काममा हामी जुटिसकेका छौ.’ मन्त्री ढकालले भने, ‘१ सय ५५ वटा आइसोलेटेड बेडहरू अहिले तयारी अवस्थामा छन् ।’