कोरोना भाइरसविरुद्ध सार्क राष्ट्र एकजुट हुँदै


काठमाडौँ, २ चैत । सार्क राष्ट्रका नेताहरूले आज ‘भिडियो कन्फरेन्स’ मार्फत प्राणघातक कोरोना भाइरसविरुद्ध लड्न सहकार्य अघि बढाउने भएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने जानकारी दिएका छन् ।कन्फरेन्स ५ बजे सिंहदरबारमा हुनेछ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर शुक्रवार डिस्चार्ज भएका थिए ।

सार्क नेताहरूबिच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो । कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ ।

कन्फरेन्समा पाकिस्तानबाट मन्त्री सहभागी हुने भए पनि अन्य राष्ट्रबाट कार्यकारी प्रमुख परराष्ट्रमन्त्री सहभागी हुनेछन् । आज (आइतबार) हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा समेत लिइएको छ । पाँच वर्षदेखि सार्क अवरुद्ध छ । २०७१ सालमा १८औँ शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्