बालिका जबरजस्ती करणीको आरोपमा एक युवालाई १२ वर्ष कैदको फैसला


कपिलवस्तु, २९ फागुन । कक्षा ७ मा पढ्ने १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लोकजङ्ग शाहको इजलासले १२ वर्ष कैदको फैसला गरेको छ न् ।

जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र रु एक लाख क्षतिपूर्तिको फैसला भएको छ । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई अदालतले उक्त सजाय तोकेको हो ।अदालतका श्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य चार बालकलाई भने आठ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ । विसं २०७५ माघ र फागुनमा छुट्टाछुट्टै समयमा ती बालिकालाई छ जनाले ललाइफकाई जबरजस्ती करणी गरेका थिए ।

बालिकाले डर त्रासका कारण त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिइनन् । घटनापछि बालिकाले तीन महिना चार दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचका क्रममा भेटिएको थियो । पीडितकी आमाले २०७६ वैशाख ११ गते आफ्नी छोरीलाई छ जनाले बलात्कार गरेको किटानी जाहेरी दिएका थिए ।

सोही आधारमा घटनाका मुख्य आरोपी श्रेष्ठ पक्राउ परेका थिए । बालिकालाई नगरपालिका–२ गोरुसिङ्गेस्थित रोयल खुस्बु होटेलमा लगी बलात्कार गरिएको थियो । होटेलका मालिक नगरपालिका–९ इमिलियाका युवराज भुसाल जैसीले बालिकालाई बलात्कार गरेका थिए । किटानी जाहेरी परेदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको मुद्दा मुल्तबी राखिएको श्रेस्तेदार शर्माले जानकारी दिए ।

बालिका सकुशल रहेको प्रहरीले जनाएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ३६(४) अनुसार आरोपी बालक भए कैदको दुई तिहाइ मात्र सजाय भोग्नुपर्ने प्रावधान छ । अठार वर्ष मुनिका बालबालिकाको सहमति र असहमति दुवै अवस्थामा बलात्कार हुने मुलुकी संहितामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्