काठमाडौँ, २९ फागुन । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएपछि नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ ।
भारतले भिसा रद्द गरिदिएपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’का रूपमा गणना गर्ने गरिएको छैन ।
स्थलमार्गबाट आउने पर्यटकको चाप सबैभन्दा धेरै लुम्बिनीमा हुन्छ । यसले लुम्बिनी क्षेत्र सुनसान हुनेछ । नेपालले भारतीय नागरिक स्थलमार्गबाट छिरेको अवस्थामा भने पर्यटक मान्दैन ।तर, दक्षिणतर्फका सीमा नाकाबाट नेपाल छिर्ने तेस्रो मुलुकका नागरिकलाई भने पर्यटकका रूपमा गणना गरिन्छ । भारतले १५ अप्रिलसम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्द गरिदिएको छ ।
यता, चीनतर्फको सीमा नाकासमेत बन्द छ । रसुवागढी नाका करिब एक महिनादेखि ठप्प छ । यो नाकाबाट पर्यटक नेपाल छिर्न पाएका छैनन् । यता, तातोपानी नाकासमेत बन्द भएका कारण अब दुवै देशबाट नेपाल प्रवेश गर्ने स्थलमार्ग बन्द भएको हो ।
भारतसँगको हवाई यात्रा समेत प्रभावित
भारत सरकारले सबै देशका नागरिकलाई भारत यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसले अब नेपाल र भारतीबीचको हवाई यात्रा समेत प्रभावित हुने भएको छ । यद्यपि आकस्मिक काम परेको अवस्थामा दूतावासमा सम्पर्क गरी यात्रा अनुमति लिन सकिने प्रावधान भारत सरकारले ल्याएको छ ।