बाँकेमा टिपर ठक्करबाट एक महिलाको मृत्यु


बाँके, २८ फागुन । बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकैरा १ ख २१८८ नम्बरको टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगन्ज सडकतर्फ आइरहेको बिहान करिब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीय रामपति थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताएका छन् ।

उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्‍याउँदा मृत्यु भइसकेको थियो । मृतक तरकारी व्यवसायी रहेको खुलेको छ । ठक्कर दिने चालक र टिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको विरोधमा स्थानीयवासीले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर–नेपालगन्ज सडकखण्डमा सवारी आवागमन बन्द छ । दुर्घटना लगत्तै घटनास्थल पुगेर मृतकका श्रीमान् र आफन्तलाई खोजी शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्