सम्बन्धित निकायले चासो नदिँदा गुम्बा तथा मन्दिर अलपत्र


बनेपा, २६ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, स्थानीय तहलगायत सम्बन्धित निकायले भूकम्पले ढालेका सांस्कृतिक तथा पुरातात्त्विक सम्पदामा सरकारी चासो नदिँदा गुम्बा तथा मन्दिर अलपत्र परेका छन् ।

बजेट अभावमा निर्माण हुन नसकेका कारण जिल्लाका अधिकांश मन्दिर तथा गुम्बा अझै टहरामै छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का अनुसार २०७२ को विनाशकारी भूकम्पले जिल्लामा रहेका १९० गुम्बामा क्षति पुगेको थियो । तीमध्ये चालू आर्थिक वर्षमा पुनर्निर्माण प्राधिकरणले २८ गुम्बा मर्मतका लागि अख्तियारी पठाएको छ ।

अट्ठाइस गुम्बा मर्मतका लागि प्राधिकरणबाट रु चार करोड २३ लाख आएको हो । जिमालीसँग जिल्लामा भूकम्पबाट कति मन्दिरमा क्षति पुग्यो भन्ने तथ्याङ्क नै छैन । ‘धेरै गुम्बा पुनर्निर्माण गर्नुपर्ने छ, तर कार्यालयमा मर्मतका लागि मात्रै भनेर बजेट आएको छ’, जिमालीका व्यवस्थापक लक्ष्मणकुमार सेठले भने, ‘१९० मा २८ गुम्बा मर्मतका लागि बजेट प्राप्त भएको छ, यो निकै कमी हो ।’ उनले अघिल्लो आर्थिक वर्षमा गुम्बा मर्मतका लागि वर्षको अन्तिमतिर अख्तियारी आएकाले त्यो रकम फिर्ता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्