११० औँ अन्तर्राष्ट्रिय नारी दिवसमा के.आई.एफको अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न


मोरङ, २५ फागुन / सुन्दरहरैंचामा ११० औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । के.आई.एफ. कुरोदय मार्सल आर्ट्स सङ्घ सुन्दरहरैंचाको आयोजनमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के के हुन, हिंसा भएमा के गर्ने, हिंसा न्यूनीकरण गर्न के गर्ने, महिला अधिकार वा सशक्तीकरण किन आवश्यक छ, हिंसाका दोषी को हुन सक्छन्, हिंसाबाट बच्न के गर्ने, कसरी आत्मरक्षा गर्ने सम्बन्धमा सङ्घले अन्तरक्रिया एवम् सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा कुरोदय मार्सल आर्ट्स सङ्घ प्रदेश न. १ प्रमुख प्रशिक्षक प्रकाशमान बस्नेत प्रमुख अतिथि थिए भने सामाजिक अभियन्ता एवम् माइती नेपाल सुन्दरहरैचाकी सचिव दीपा अधिकारी, कुरोदय बेलबारीकी अध्यक्ष शीतल राय, महिला व्यवसायी पदमा भट्टराई, महिलाकर्मी एवम् नाटककार विमला कार्कीडोली, हिंसा पीडित तुलसा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

समाजमा बलात्कार, दाइजो प्रथा, देउकी प्रथा, बोक्सी, छुवाछुत, श्रम शोषण, लैंगिक विभेद जस्ता विभिन्न महिला हिंसाहरू विद्यमान रहेको र महिलाहरूमा शिक्षाको कमी, शारीरिक रूपमा महिला कमजोर हुनु, आत्मसक्षम नहुनु, पुरुष प्रधान समाज, सशक्तीकरणको अभाव, मादक पदार्थ सेवन, परम्परागत मान्यता, कुरीति, धार्मिक प्रचलन आदि कारणले महिला हिंसाहरू थुप्रै हुने गरेको अन्तरक्रियाको निष्कर्ष रहेको सङ्घका अध्यक्ष मिलन घिमिरेले बताएका छन् ।

कुनै पनि प्रकारको हिंसा भएमा सहनु हुँदैन र त्यसको कानुनी उपचार खोज्नुपर्दछ । महिला र पुरुष दुवैको हातेमालो, सामूहिक सोच, एक आपसमा सम्मान एवम् सद्भाव र पुरुषवादी एकल सोचको अन्त्यले मात्र हिंसा न्यूनीकरण हुन सक्दछ । अधिकार र सशक्तीकरणले महिलाहरूको सामाजिक अवस्था उकास्न सकिन्छ । घरेलु एवम् सामाजिक महिला हिंसाको सिकार पुरुषबाट महिला वा महिलाबाटै महिला पनि हुन सक्दछन् । हिंसाबाट बच्न सावधानी अपनाउने, समाजमा सचेतना जगाउने, सशक्तीकरण गर्ने र आत्मरक्षा सम्बन्धी सिपहरूको विकास गर्ने जस्ता कार्य गर्नुपर्ने कार्यक्रमले साझा धारणा प्रस्तुत गरेको छ ।

सामूहिक सोच, सकारात्मक चेत र प्रयत्नले मात्र महिला हिंसा कम गर्न सकिने कार्यक्रमका सभापति घिमिरेले बताएका छन् । कार्यक्रममा बोल्दै माइती नेपाल सुन्दरहरैचाकी सचिव दीपा अधिकारीले आफूले समानताका निम्ति विगतमा हतियार समेत उठाएको बताइन् । सामाजिक रूपमा छोरा र छोरी बिचको खाडललाई पुर्न सके मात्र सुन्दर र समुन्नत समाज बन्ने उनको भनाई थियो । त्यस्तै महिला व्यवसायी पद्मा भट्टराईले महिलाहरू आत्मनिर्भर बन्न सके हिंसाको सामना गर्नु नपर्ने बताइन् । उनले धेरै हदसम्म महिला हिंसा महिलाबाटै हुने गरेकोले सबैको सोचमा परिवर्तन गर्नुपर्ने बताइन् ।

कार्यक्रममा विभिन्न सचेतनामूलक सांस्कृतिक नृत्य, गीत तथा प्रोजेक्टरबाट भिडियोहरु समेत देखाइएको थियो । ज्ञानु घिमिरे, विनीता अधिकारी, मोनिका ढकाल, रञ्जित दास, तुलसा पौडेल, प्रमोद गेलाल लगायतले महिला हिंसा विषयमा आफ्नो सान्दर्भिक धारणा समेत प्रस्तुत गरे ।

सुन्दरहरैचा भरका युवा तथा महिलाहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम माइक्रो एकेडेमीको हल बिराटचोकमा सञ्चालन भएको हो । प्रत्येक वर्ष मार्च ८ लाई विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा मनाउँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्