सुन्दरहरैँचाको शिव पंचायन मन्दिरलाई नोबेल मेडिकलद्वारा एम्बुलेन्स हस्तान्तरण


सुन्दररहैँचा, मोरङ / नोबेल शिक्षण अस्पताल विराटनगरका सञ्चालक डा. सुनिल शर्माले सुन्दरहरंैचा नगरपालिका –१२ मा अवस्थित एक मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका छन् ।
सुन्दरहरैंचा –१२ शुक्रबारेमा अवस्थित श्री शक्रेश्वर शिव पान्चायन मन्दिरलाई आज एक कार्यक्रमबिच डा. शर्माले एम्बुलेन्स प्रदान गरेका हुन ।

मन्दिरको प्राङ्गणमा शनिवार एम्बुलेन्स हस्तान्तरण कार्यक्रमको आयोजना गरेर मन्दिर व्यवस्थापन समितिलाई डा. शर्माले एम्बुलेन्सको चाबी दिएका छन् ।

चाबी हस्तान्तरण कार्यक्रममा बोल्दै डा. शर्माले सामान्य आर्थिक अवस्था भएको परिवारलाई ५० प्रतिशत छुट र विपन्न वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताए ।
साथै उनले मन्दिरको हितमा केही दिनभित्रै १ लाखको अक्षयकोष स्थापना गर्ने पनि प्रतिबद्धता गरे ।
सुन्दरहरंैचा नगरपालिका प्रमुख शिव प्रसाद ढकालले नगरभित्रका विपन्न वर्गको स्वास्थ्य क्षेत्रमा सहयोग पुग्नेगरी एम्बुलेन्स प्रदान गरेकोमा डा. शर्मालाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ढकाले मन्दिर क्षेत्रको केही भागमा घेराबारा गर्न बाँकी काम पनि नगरको तर्फबाट चाँडै सम्पन्न गर्ने बताए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिले डा. शर्मालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको थियो । विपन्न, असहाय तथा सम्पूर्ण नगरवासीका लागि स्वास्थ्य क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले एम्बुलेन्स प्रदान गरेकोमा उच्च मूल्याङ्कन गर्दै डा. शर्मालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको मन्दिर ब्ययस्थापन समिति अध्यक्ष जय कुमार श्रेष्ठले बताए ।

डा. शर्माकै प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन अध्यक्ष जयकुमार श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वार्ड नं १२ र ११ का अध्यक्ष क्रमशः रोशन ढकाल र बिसनलाल चौधरी कार्यक्रममा मन्तव्य राखेका थिए ।

मन्दिर व्यवस्थापन उपाध्यक्ष टिका प्रसाद सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रम स–सचिव हिमाल अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्