औषधि पसलमा मास्क उच्च मूल्यमा बेच्दै


ललितपुर, २३ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा मास्क उच्च मूल्यमा बेचिएको पाइएको छ ।

ललितपुरको टाइम मेडिकेयर फार्मेसीले रु ३० रुपैयाँ पर्ने मास्कलाई हाल रु एक सयमा बेच्ने गरेको भेटिएको छ । सो फार्मेसीसँग खरिद बिल पनि नभएको पाइएको छ । सो पसलबाट छ थान मास्क जफत गरिएको छ ।

यसै गरी पाटन अस्पताल नजिकै सञ्चालित जिपिपी म्यानकाइण्ड प्रालिले कपडाको मास्क साधारण खरिदको बिल समेत पसलमा नराखेको र रु २५ मा बेच्नुपर्नेमा रु ५० लिएर व्यापार गरेबापत अनुगमन समितिले २२ थान मास्क जफत गरेको छ ।

बजारमा मास्क तथा औषधिको मूल्य वृद्धि र अभाव भएसँगै उचित मूल्य निर्धारणका लागि आज १२ पसलमा अनुगमन गरिएको हो ।जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रजिअ खेमप्रसाद भुसालले मुलुकमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको हुँदा आगामी दिनमा सञ्चालकलाई उचित मूल्य लिन तथा सबै वस्तुको खरिदको बिल, प्यान तथा भ्याट राख्न आग्रह गरका छन् ।

प्रतिक्रिया दिनुहोस्