काठमाडौँ, २१ फागुन । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ लिनेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई सदस्य छन् ।शपथ लिनेहरूमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल छन् ।
नव निर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिनुभएको छ । समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापन समेत गरेका छन् ।
सो अवसरमा सङ्घीय संसद् सचिवालयले उनीहरूलाई संविधान र कानुनसहितको झोला उपलब्ध गराएको थियो ।