बाबुआमाको शवलाई आफैँ काँधमा बोकेर घाट लैजाने छोरीहरूको सङ्ख्या बढ्दै


जनकपुरधाम ,२० फागुन । जनकपुरधाम उप–महानगरपालिका– ७ जानकी नगरका ७२ वर्षीय मुखिया साहलाई छोरीहरूले नै बोकेर घाट पुर्‍याएका छन् ।

बाबुआमाको मृत्युपछि शवलाई आफैँ काँधमा बोकेर घाट लैजाने छोरीहरूको सङ्ख्या तराई–मधेसमा बढ्न थालेको छ । वडा नम्बर ७ का अध्यक्ष जानकी राम साहले मुखियाका छोरीहरूले बुबाको शव बोक्ने विषयमा चार घण्टा सामाजिक बैठक बस्नुपरेको बताए ।

दाजुभाइ र नातेदारहरुले विरोध गरेका थिए’, उनले भने, ‘अन्त्यमा छोरी पनि छोरा सरहको सन्तान भएको सम्झाएर सामाजिक अनुमति दिने वातावरण बन्यो ।’
त्यसपछि तीन छोरी लक्ष्मीनियादेवी, उजारो देवी, फूलकुमारी देवी र पत्नी शितली देवीले मुखियाको शव काँधमा उठाएर दूधमती खोला पुर्‍याएको वडा अध्यक्ष साहले बताए । उनका अनुसार, दागबत्ती चाहिँ पत्नी शितलीदेवीले दिइन् ।

त्यस्तै , जनकपुर– १९ बेंगाशिबपुरका कृष्णा यादव (भोला)लाई बेंगा श्मसान घाटमा नौ बर्षीया छोरी रागिनीले दागबत्ती दिएकी थिइन् । यसअघि गत ७ गते मृत्य भएका धनुषाकै सबैला नगरपालिका–२ का रामनारायण यादवलाई पनि पाँच छोरीले ‘कन्धा’ र श्रीमतीले दागबत्ती दिएकी थिइन् ।

तराई–मधेसमा छोरीले बाबुआमाको शव नबोक्ने र महिलाहरू श्मसानघाटमा नजाने परम्परा थियो । त्यस विपरीत छोरीहरू अगाडि आउनुलाई एकदमै राम्रो मान्नुपर्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गत मैथिली भाषा विभाग प्रमुख रहिसकेका परमेश्वर कापडी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्