काठमाडौँ, १९ फागुन । सैनिक कल्याणकारी योजना निर्देशनालयले काठमाडौँको त्रिपुरेश्वरमा सहुलियत सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार पसलबाट बहालवाला तथा अवकाश प्राप्त सैनिकसहित उनीहरूका आश्रित परिवारले सेवा पाउनेछन् । पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार उद्घाटन गरेका छन् ।
वार्षिक करिब ४५ हजार ५०० उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त पसलबाट वार्षिक रूपमा रु ४० करोड भन्दाबढी कारोबार हुने अपेक्षा गरिएको छ ।
सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्ने छन् । सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना जानकारी दिएको छ ।
कार्यालय सञ्चालन खर्चका लागि थोक मूल्यमा एक प्रतिशत मात्र मूल्य बढाएर विक्री गरिने बताइएको छ ।यसअघि सेनाले सञ्चालन गर्दै आएको सुन्धरास्थित वसुन्धरा क्यान्टिनबाट गत साउनदेखि बजार भाउभन्दा करिब १० देखि १९ प्रतिशत छुटमा दैनिक उपभोग्य सामग्री बिक्री हुँदै आएको छ ।
भारत, पाकिस्तान र बङ्गलादेशमा पनि कर छुटसहितको यस्ता खाले सुपथ मूल्यका पसल त्यहाँका सेनाले सञ्चालन गर्दै आएको बताइएको छ ।