नेपालमा फेरि पश्चिमी वायुको प्रभाव


काठमाडौँ, ८ फागुन । नेपाल फेरि पश्चिमी वायुको प्रभाव देखिएकोले केही दिनदेखि मौसममा बदली आएको देखिएको छ ।

बुधवार रातिदेखि नै पश्चिमी क्षेत्रका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।‘यो प्रणाली बुधवार राति नै नेपाल प्रवेश गरेको हो,’ पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘जसको प्रभावले रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रको पहाडी भेगका एक–दुई स्थानमा वर्षा तथा हिमाली भेगका एक–दुई स्थानमा हिमपात सुरु भइसकेको छ ।’

महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन सचेत गराएको छ ।
कस्तो रहला आगामी तीन दिन ?

फागुन ८ गते बिहीबार

दिउँसो –देशभर आंशिकदेखि सामान्यसम्म बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

राति – देशभर सामान्य बदली रही पश्चिमका केही भू–भागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना देखिन्छ ।

फागुन ९ गते शुक्रवार

दिउँसो –देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

राति –देशभर आंशिकदेखि सामान्यसम्म सामान्य बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ।

फागुन १० गते शनिवार

दिउँसो –देशभर आंशिकदेखि देखि सामान्यसम्म बदली रही मध्य तथा पूर्वी भू–भागका थोरै स्थान र पश्चिमी पहाड का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

राति–पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्