मन्दिरको विकासका लागि गाेठगाउँमा महायज्ञको हुने


सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ७ गोठगाउँमा श्री शिव पाञ्चायन मन्दिरको विकासका निमित्त फागुन ५ गतेदेखि १२ गतेसम्म भव्य रूपमा श्रीमद्भ भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

मन्दिरका लागि थप जग्गा खरिद,ज्येष्ठ नागरिक चौतारी निर्माण, विवाह मण्डप निर्माण तथा मन्दिरको भौतिक संरचना निर्माण तथा मर्मत सम्भार लगायतकाले उद्देश्य राखी पुराण आयोजना गरिने आयोजक मूल समारोह समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।पुराण वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको मुखारविन्दबाट कथा वाचन हुने साथै उपवाचकमा पण्डित वासुदेव पोखरेल रहने आयोजक समितिले बताएको छ ।

महायज्ञ मार्फत करिब १ करोड ५० लाख रुपैयाँ सङ्कलन हुने साथै त्यसमध्ये करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोले बाँकी रहेको रकम मन्दिरको हित र विकासका लागि जग्गा खरिद लगायतका अन्य लक्षित उद्देश्यमा खर्च गरिने मूल समारोह समितिका संयोजक भक्तिप्रसाद सिटौलाले बताए । उनले श्रीमद्भाभागवत सप्ताह ज्ञान महायज्ञको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने विज्ञप्ति मार्फत जानकारी दिए ।

दैनिक करिब ३ हजार भक्तजनको उपस्थिति रहने अनुमान गरिएको महायज्ञमा फागुन ५ गते कलश यात्राबाट सुरु भएर १२ गते समापन हुने आयोजक समितिका महासचिव नागेश पोखरेलले बताए । उनले गाउँमा बसेर समाजको विकासका लागि काम गर्न चुनौतीसँगै सम्भावना र अवसर पनि भएकोले यस प्रकारको धार्मिक महायज्ञलाई सफल बनाउँदै उद्देश्य प्राप्तिका लागि समिति अराेरात्र खटेर कार्य सफल बनाएर अघि बढ्ने समेत जानकारी दिए ।

मोरङ जिल्लाको सुन्दर र हरित नगरीमा आयोजना हुन लागेको ज्ञान महायज्ञमा प्रत्येक दिन कथा प्रवचन ,बेलुकाको समयमा महात्म्म , प्रवचन र भजन कीर्तन, साँझ बिहानमा आरती , मण्डप पूजा लगायत नियम बमाेजिक विधि पूर्वकको अन्य धार्मिक कार्यक्रम हुने आयोजक समितिका अनुगमन संयोजक प्रेमप्रकाश उप्रेतीले बताए । उनले महायज्ञको लागि आर्थिक रूपमा सहयोग पुन-याउँने दाताहरूलाई समितिको तर्फबाट विशेष सम्मान समेत गरिने तयारी रहेको जानकारी दिए ।

महायज्ञको व्यवस्थापक संयोजक पोस्टकुमार श्रेष्ठ , विद्युत् व्यवस्थापनमा संयोजक पुरनकुमार राई , मन्दिरको व्यवस्थापन समिति सचिव उज्ज्वल न्यौपाने लगायत रहेको समेत समितिले बताएको छ । देश विदेशमा रहेका धर्म प्रेमी भक्तजनहरूले महापुराणलाई उद्देश्य बमोजिम सफल बनाउन मितेरी बैङ्कमा रहेको खाता नम्बर ०१६११६०००४९३१३०००००१ मा रकम जम्मा गर्न सकिने समितिका आर्थिक संयोजक खड्ग श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्