अल्पसङ्ख्यक जातिको सूचिमा राखेकोमा ठकुरी समुदायको आपत्ति


केराबारी । ठकुरीहरूलाई अल्पसङ्ख्यक जातिको सूचिमा राखेको भन्दै ठकुरीका अग्रजहरूले असन्तुष्टि जनाएका छन् । ठकुरी समाज महासङ्घ केराबारी गाउँपालिका कमिटीको आयोजनामा भएको वार्षिक साधारण सभामा बोल्दै ठकुरीहरूका नेता तथा अगुवा वुद्धिजीविहरुले आपत्ति जनाएका हुन् ।

नेपालको ६४ जिल्लामा ९ लाख बढी ठकुरीहरूको जनसङ्ख्या रहेपनि नेपाल सरकारले ४ लाख जनसङ्ख्या मात्र रहेको भन्दै जनसङ्ख्या तथ्याङ्क कम देखाएर अल्प सङ्ख्यक जातिको सूचिमा राखेको प्रति आपत्ति जनाएका हुन् ।

ठकुरी समाज महासङ्घ नेपालका केन्द्रीय सदस्य राजेन्द्र खाण ठकुरीले ठकुरीहरू यो देशका आदिवासी जाति भए पनि ठकुरीको भाषा कला संस्कृतिलाई लोप गराउन सरकारले पक्षपात पूर्ण व्यवहार गरेको बताए ।

पूर्वेली ठकुरीहरूको ऐतिहासिक थलो मोरङको तत्कालीन सिंहदेवी गाविस (केराबारी २) भएको साधारण सभामा विशेष अतिथिका रूपमा बोल्दै केराबारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष भूपतिन्द्र प्रताप मल्लले ठकुरी ठकुरी जातिको भाषा कला संस्कार र संस्कृति अन्य जातिको भन्दा पृथक् भएकै कारण जातीय द्वन्द्व निम्त्याउन शासकहरूले ठकुरीहरूलाई भेदभावपूर्ण व्यवहार गरेको औँल्याए ।

नेपालको राष्ट्रिय एकता र स्वाधीनताको लडाइमा ठकुरीको आफ्नै पहिचान रहेको भन्दै ठकुरी भाषा कला संस्कार संस्कृति संरक्षणमा एकजुट हुनुको विकल्प नरहेको बताए । मल्ले भने ठकुरी भाषा नेपालको सभ्य र शिष्ट भाषा भएको र यो कुनै सम्भ्रान्त वर्गको नभएको औँल्याए । बरु ठकुरी भाषा मन पराएर अन्य जातिका सम्भ्रान्त परिवारले कपि गरेको उल्लेख गरे ।

कार्यक्रममा ठकुरीसमाज महासङ्घ सुन्दरहरैचा नगरकमिटीका अध्यक्ष टेकबहादुर शाहीले अव पनि ठकुरी एक नभए ठकुरीको अस्तित्व र पहिचान हराउने बताए । कार्यक्रममा ठकुरी समाज महासङ्घ लेटाङ नगरकमिटीका अध्यक्ष महेन्द्र शाहीले ठकुरी समाज महासङ्घ कुनै पनि पार्टी र राजनीतिको सङ्गठन नभएको र यो विशुद्ध पहिचान र संस्कृतिको लागि एकताको सङ्गठन भएको बताए । त्यसै गरी कार्यक्रममा समाजका सल्लाहकार सदस्य तथा शिक्षक वसन्त कुमार खाणले ठकुरीको एकता हुन पौष २७ गते राष्ट्रिय एकता दिवसको दिन पनि राज्यले सार्वजनिक बिदा नदिएर गल्ती गरेको बताए ।

महासङ्घका अध्यक्ष उत्तम विक्रम मल्लको सभापतित्व सम्पन्न कार्यक्रममा १ नं. प्रदेश सचिव कृष्णकुमार ठकुरी, महासङ्घ पथरी शनिश्चरे अध्यक्ष राजेन्द्र शाही, लेटाङ नगरकमिटी अध्यक्ष महेन्द्र शाही, सुन्दरहरैचा नगरकमिटी अध्यक्ष टेकबहादुर शाही,सचिव वसन्त कुमार खाण, कल्याणकारी माविका शिक्षक प्रतिनिधि डब्लुविक्रम खाण,जेफाले होमस्टे सचिम भिमवहादुर ठकुरी, ठकुरी युवा सङ्घ प्रदेश अध्यक्ष अशोक शाही,साहित्यकार युवराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

ठकुरी अग्रज व्यक्तित्व सम्मानित

यसैबिच महासङ्घले वार्षिक साधारण सभाको अवसरमा सिंहदेवीको,सामाजिक, राजनीतिक तथा शैक्षिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै खाण ठकुरीको वंशावलीका लेखक तथा संकलक पृथ्वीराज खाण ठकुरी सहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

ठकुरी जातिको भाषा कला संस्कृतिमा पुर्‍याएको योगदानको स्मरण गर्दै समाजसेवी तथा वृद्धिजीवि लेटाङ २ निवासी खाणलाई सम्मान तथा अभिनन्दन गरिएको हो । शारीरिक अस्वस्थताका बापजुद खाण उपस्थित हुन नसकेका कारण उहाँको सम्मान भाइ वसन्त खाणले ग्रहण गर्नुभएको थियो ।

त्यसै गरी कार्यक्रममा ८० वर्षमाथिका जेष्ठनागरिकहरु हर्कमाया ठकुरी, सानीमाया जीउ ठकुरी, अमरवहादुर जीउ ठकुरी , रत्नबहादुर मल्ल, मोहनमाया ठकुरीलाई पनि दोसल्ला प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

संस्थाले उत्कृष्ट सदस्यहरू केराबारी २ का खड्गबहादुर ठकुरी र वडा नं. १० का बालकुमारी शाहीलाई पनि पुरस्कृत गरेको छ । गत वर्ष झैँ यसवर्षपनि विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको तर्फबाट कल्याणकारी मावि सिहंदवीमा अध्ययनरत ६ जना विद्यार्थी लक्ष्मी आधारभूत विद्यालयमा अध्ययन गर्ने ३ जना र मच्छिन्द्र मावि र लक्ष्मी माविमा अध्ययन गर्ने एक एक जना गरी १० जनालाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो ।

हिमचुली कपी उद्योगका प्रो प्रोप्राइटर अमृत गहतराजले स्पोन्सर गर्नुभएको १० हजार बराबरको सामग्री विद्यार्थीलाई उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्