भक्तपुर, १ फागुन । झापास्थित बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँ बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएका छन् ।
मानहानिको मुद्दापछि फरार रहेका प्रसाईँ बिहीबार बिहान कार्यालयमा हाजिर हुन आएको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी छिन् । उनले बहसपछि उनलाई साधारण तारेखमा रिहा गरिएको बताइन् ।
झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईँले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।
अयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेका थिए । अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै प्रसाईँ फरार भएका थिए ।