लेटाङको गुवावारीमा आगलागीमा : २५ लाख बराबरको क्षति


लेटाङ २९ माघ । आफ्नै घरमा जडित विद्युत् सर्ट भई आगलागी हुँदा मोरङ को लेटाङ ६ गुवाबारी (देउजे) स्थित जीवन तामाङको दुई तले काठको घर जलेर पूर्णरूपीमा नष्ट भएको छ । बिहान ११ बजेको समयमा टिभी कोठामा बिजुली सर्ट भई आगलागी भएको हो ।

आगोलाई सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दुई वटा दमकल, नेपाल प्रहरी, पूर्वी पृतना तालिम केन्द्र लेटाङ का नेपाली सेना तथा स्थानीयको सहयोगमा करिब एक घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट करिब २५ लाख बराबरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जंगविर तामाङले जनाएका छन् । आगोलागिबाट तामाङको घर पूर्ण रूपमा जलेर नष्ट भएकाले हाल पीडित परिवारलाई छिमेकीको घरमा राखिने लेटाङ नगरप्रमुख शङ्कर राईले जनकारी दिएका छन् ।

पहिलो चरणमा खाद्यान्न र लत्ताकपडा नगरपालिकाले उपलब्ध गराउने र क्रमिक रूपमा पहिलेकै अवस्थामा पूर्याउन सहयोग गर्ने नगर प्रमुख राईले बताएका छन्। स्थानीय आनन्द पौडेलले पीडित परिवारको अवस्था कमजोर भएकाले सबैले सहयोग गरेमा चाडैनै सामान्य अवस्थामा फर्काउन सकिने बताए ।

उक्त आगलागी दिउसोको समय हुनु ,नजिकमा कुनै पनि पानीको श्रोत नहुनु, समयमा वारुणयन्त्र आईनपुग्नु तथा आगोले उग्ररुप लिए पछि मात्र छिमेकीहरूले थाहापाउनाले पनि यति ठुलो क्षति हुन गएको स्थानीयहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्