काठमाडौँ, २७ माघ । चिनको वुहानबाट नेपालीहरुलाई फर्काउन फागुन ३ गते उद्धारको लागि नेपाल एयर लाइन्सको वाइडबडी एयरबस ३३० विमान जाने भएको छ ।
वुहान कोरोना भाइरसबाट प्रभावित भएकोले नेपालीहरू बन्दी जस्तै बनेर बसिरहेकोले नेपालीहरूलाई फर्काउन लागेको हो ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार सो जहाज आगामी १५ तारिख अर्थात् फागुन ३ गते चीन जाने भएको हो। परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालय समेतका अधिकारीहरूसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरू पनि छन् ।
कोरोना भाइरसको ‘इपी सेन्टर’ चीनको वुहानबाट करिब १८० जना नेपालीहरूलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्नेछ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरू छन् । उनीहरूले आफूहरूको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।
उनीहरूका अभिभावकहरूले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानवअधिकार आयोगलगायतको ध्यानाकर्षण समेत गराएका थिए । चीनमा रहेका विद्यार्थीहरूले बाहिर निस्किन सक्ने अवस्था नभएको र कोठामा पानीको समेत अभाव भएकाले आफूहरूलाई तत्काल उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।