प्रतिभाशाली दोस्रो बेलवारी आइडलको खोज यात्रा


बेलवारी ,१८ माघ । सुर सप्तक बेलवारी आइडल २ को सुरुवात माघ १७ गते शुक्रवारको दिन देखी सुरु भएको छ । अर्थात् दोस्रो बेलबारी आइडल खोजको यात्रा ।

गत वर्षको पहिलो सुर सप्तक बेलवारी आइडलद्वारा, बेलबारीले पहिलो आइडलको रूपमा विवेश मोतेलाई प्राप्त गरेसँग सुर सप्तक बेलवारी आइडल कार्यक्रम सबै सङ्गीत प्रेमीको सर्वप्रिय बनेको छ ।

छनोट चरणको कार्य दुई दिन भएको थियो । माग १७ गते शुक्रवार पहिलो दिन बेलवारी–७ स्थित प्रगति बोर्डिङ स्कुल र रणवीर बोर्डिङ स्कुलमा र माग १८ गते शनिवार दोस्रो दिन बेलवारी–११ स्थित श्री लक्ष्मी मा.वि र बेलबारी ३ स्थित मदनमोहन सांस्कृतिक भवनमा छनोट कार्य सम्पन्न भएको छ ।

स्रष्टा समाज बेलबारी मोरङको आयोजनामा भएको सुर सप्तक बेलवारी आइडल २ मा संस्थाका सचिव तथा कार्यक्रम संयोजक जे.वि थुलुङको नेतृत्वमा बेलबारीलाई दोस्रो आइडल प्रदान गर्ने उद्देश्यमा शुक्रवार देखी यात्रा सुरु भएको हो । आइडललाई बेलबारी नगरपालिकाको सहयोग रहेको थुलुङले जनाएका छन ।

थुलुङ नेतृत्वको टोलीमा लामोसमय देखी सङ्गीत क्षेत्रमा आफ्नो अमूल्य योगदान पुराउँदै आएका सङ्गीतकर्मी भीम बस्नेत, शेखर थापा मगर, गोपाल श्रेष्ठ र टेकराज मगर छनोट चरणका निर्णायक थिए भने प्राविधिक सहयोगीमा पूरण राई र अविसेक दाहाल रहेका छन् । व्यवस्थापनको जिम्मेवारी विकास बुढाथोकीले समाली रहेका छन् । छायङ्कन कार्यको जिम्मेवारीमा कोसी नेपाल मिडिया रहेको छ ।

छनोट चरणमा सयौँको सङ्ख्यामा सहभागी भएका प्रतियोगीमध्येबाट सम्भावना बोकेका सीमित ६१ जना प्रतियोगीले मात्र निर्णायकहरूको मन जित्न सफल भएर प्रि–सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिवार सम्पन्न प्रतियोगी छनोट कार्यक्रममा पहिलो बेलबारी आइडल विजेताको साथै टप टेन प्रतियोगीहरूको आवाजमा रहेको दुइटा गीत सार्वजनिक गरिएको छ । बेलबारी वाड नं. १ का अध्यक्ष चक्र खुलालद्वारा ‘प्यारो छ बेलबारी नगर’ बोलको गीत र ‘तृष्णा त केवल बाँकी रहयो’ बोलको गीत उज्यालो प्रदेशका प्रधान सम्पादक भत्तशेर लिम्बु र बेतना राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक नरेन्द्र बस्नेतले मोबाइलबाट गीत बजाएर औपचारिक रूपमा सार्वजनिक गरिएको थियो ।

गत साल पहिलो सुर सप्तक बेलवारी आइडलमा भिडेर पनि अवसर गुमाएका प्रतियोगीहरू यस पटक सहभागी भएका छन् । आँखाले देख्न नसके पनि गायन प्रतिभाले भरिएका प्रतियोगीहरू सुर सप्तक बेलवारी आइडल २ आएका छन् । कहिले पनि सङ्गीत नसिकेका तर गाउन सक्छु भन्ने ऊर्जा भएका प्रतियोगीहरूको पनि सहभागिता रहेको छ ।

अडिसनमा प्रतियोगीहरूले सबै प्रकारका गीतहरू प्रस्तुत गरेका थिए । सबैले निर्णायकको मन जित्ने कोसिस गरे । कोहीले हँसाएर गए त कोही निराश भएर, कोहीले प्रि–सेमिफाइनलमा प्रवेश गर्ने बधाई कार्ड लिएर गए ।

सहभागी प्रतियोगीहरूमा यती धेरै सङ्गीत प्रतिको प्रेम देख्न पाइयो की, जति नै मन भरी पिडा भए पनि मुहारमा रत्ती भर नदेखाई, हाँसोको साथ दोस्रो बेलबारी आइडल बन्ने सपना लिएर अडिसनमा सहभागी भएका थिए ।

छनोट भएका बेलबारी ११ निवासी एक प्रतियोगी रविसन खत्री, पहिलो बेलबारी आइडलमा पनि प्रतिस्पर्धी थिए । तर उनले पहिलो बेलबारी आइडल बन्ने सपना भने पुरा गर्न सकेनन् । उनले फेरी यस पटक पनि कोसिस गर्दै छन् ।

रविसन खत्रीले अडिसनमा गीत गाएर निर्णायक सबैको मन जिते । तर उनी भने मन भरी पिडा लुकाएर अडिसनमा सपना पुरा गर्न आएका रहेछन् । उनीसँगको कुराकानीमा अडिसनको माहौल एक्छीन स्तब्ध बन्यो । रविसनको बुबा स्वर्गीय हुनु भएको मात्र तिन दिन भएको रहेछ । तर आफूलाई समालेर उनी शनिवार अडिसन दिन आएका थिए । उनी अडिसनमा छनोट पनि भए ।

रविसन जस्ता थुप्रै प्रतियोगी सुर सप्तक बेलवारी आइडल २ मा सहभागी भएका छन् । रविसन साथै उनी जस्तो प्रतिभाशाली सङ्गीत प्रेमी प्रतियोगीहरूलाई हामी सबैको शुभकामना छ ।

आइडलमा एकै घरबाट बुवा छोरा, आमा छोरीहरू पनि सहभागी भएका छन् । बालक देखी परिपक्व उमेरका युवा सम्म सबैको सहभागिता रहेको छ । उमेरको भन्दा पनि प्रतिभाको सम्मान गर्ने सुर सप्तक बेलवारी आइडल २ मा लुकेका प्रतिभाशाली प्रतियोगीहरूको सहभागिता रहेको छ । बेलबारी नगरमा सङ्गीत क्षेत्रको विकासमा सुर सप्तक बेलवारी आइडल २ ले अतुलनीय योगदान पुराइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्