चितवन, १५ माघ । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मरेका छन् । मङ्गलवार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८–२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेका छन् भने अर्को ३० वर्षको पोथी गैँडा सुखीभार क्षेत्र नजिक मृतावस्थामा फेला परेको हो ।
चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा मरेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले बताएका छन् ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैँडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैँडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दिए । अर्को गैँडा मर्नाको कारण खुल्न सकेको छैन ।
गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४–७५ मा २६ र २०७३–७४ मा २५ गैँडा कालगतिले मरेका थिए । गैँडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।