जाजरकोट, १० माघ । जाजरकोटमा एक गाउँपालिकाका अध्यक्ष घुस रकमसहित पक्राउ परेका छन् । जाजरकोटको चुनीचाँद गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी घुस रकमसहित पक्राउ परेका हुन ।
अध्यक्ष केसीसहित दुई जना आठ लाख घुस रकमसहित सुर्खेतमा पक्राउ परेका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले अध्यक्ष केसीलाई पक्राउ गरेको हो ।
अध्यक्ष केसीसँगै रहेका चन्द्रबहादुर बस्नेत समेत पक्राउ परेका छन् । घुस लिइसको आठ लाख नगदसहित उनीहरूलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कट्कुवा हेल्थपोष्ट नजिकैबाट शुक्रवार नियन्त्रणमा लिइएको अख्तियारको कार्यालय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए । घटनाको थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।