बेलबारीमा भूकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी सचेतना कार्यक्रम


बेलबारी, मोरङ / बेलबारी नगरपालिकाले भूकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । २२ औँ भूकम्प सुरक्षा दिवसको सन्दर्भमा बिहीबार बेलबारी नगरपालिकाको सभाहलमा भूकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी सचेतना कार्यक्रम भएको हो ।

नगरपालिकाले गरेको भूकम्प सम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरूले भूकम्प तथा अन्य दैविक प्रकोपबाट बच्ने खालका संरचना निर्माणका लागि निर्माण व्यवसायीलाई ध्यान दिन आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्दै उपमेयर ढाका कुमारी पराजुलीले दक्ष जनशक्ति तथा प्राविधिकहरूले निगरानी गरेर संरचनाहरू बनाउँदा धनजनको क्षति हुने सम्भावना कम रहेको बताइन् । प्राकृतिक प्रकोप तथा बिपदको पूर्व तयारीका लागि नगरपालिकाले यस वर्ष ४० लाख बजेट छुट्ट्याएको बताउँदै उनले विपथको पूर्व तयारीका लागि चाँडै आवश्यक सामग्रीहरू खरिद गर्ने बताइन् ।

उनले निर्माण ब्यबशायीहरुसँग नगरपालिकाले अन्तरक्रिया तालिम आयोजना गर्ने योजना रहेको बताउँदै निर्माण मजदुरहरूको हक हित तथा पेसागत सुरक्षामा नगरपालिकाले ध्यान दिने बताइन् ।

त्यस्तै घर बनाउँदा सावधानी नअपनाएकै कारण क्षति हुने गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए । बैँकबाट ऋण लिनका लागि मात्रै नक्सा पास गरेर घर बनाइने गरेको समेत उनले बताए । शाहले घर बनाउँदा नगरपालिका बाट नक्सा पास गराएर मात्रै घर बनाउन आग्रह गरे । बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले संरचना बनाउँदा दक्ष जनशक्तिको प्रयोग गर्नु पर्नेमा जोड दिए ।

नगरपालिकाका भवन नियमन शाखाका प्रमुख इन्जिनियर वीरेन्द्र गिरीले स्थान छनौट,भित्ता, झ्याल ढोका, पिलर तथा बिम बनाउँदा ध्यान दिनुपर्ने कुराहरू प्रस्तुत गरे ।कार्यक्रममा निर्माण व्यवसायी, कन्सल्टेन्सी, सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

https://youtu.be/lztODMMk1JU

प्रतिक्रिया दिनुहोस्