कबिर विद्यालयका विद्यार्थी एवम् शिक्षकलाई सम्मान तथा पुरस्कार वितरण


बेलबारी ,माघ १ – जय देव कुल बुद्ध रन्धता प्रतिष्ठानले मङ्गलवार बेलबारी २ स्थित कबिर माध्यमिक विद्यालयका विद्यार्थी एवम् शिक्षकलाई प्रोत्साहन स्वरूप सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

कुलप्रसाद सुवेदी र उहाँका परिवारले आफ्ना अग्रज एवम् नातेदारहरूको नामबाट स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष विभिन्न विद्यालयमा कार्यक्रम आयोजना गरेर प्रोत्साहन स्वरूप सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ । प्रष्ठिानका संस्थापक संरक्षक कुलप्रसाद सुवेदीको ८६ औ जन्मोत्सवको अवसर पारेर विद्यालयमा मङ्गलवार आयोजित कार्यक्रममा प्रष्ठिानले २ जना विद्यार्थी, १ जना शिक्षक र १ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

सम्मानित हुनेमा शिक्षक हेमचन्द्र तिम्सिना,ज्येष्ठ नागरिक रत्नप्रसाद लिम्बु हुनुहुन्छ । त्यस्तै फरक क्षमता भएकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी विनीता राई र २०७५ सालमा कक्षा ८ को परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी सविना खत्रीलाई पनि प्रतिष्ठानले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम र प्रतिष्ठानका संरक्षक सुवेदीले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतिष्ठानले विद्यालयलाई एउटा दराज पनि प्रदान गरेको छ ।

कार्यक्रमबारे प्रकाश पार्दै प्रतिष्ठानका महासचिव महेन्द्र सुवेदीले पारिवारिक पहलमा शिक्षा तथा सामाजिक क्षेत्रमा प्रोत्साहन प्रदान गर्ने गरी र परोपकारी काम गर्ने उद्देश्यका साथ प्रतिष्ठान स्थापना भएको जानकारी दिनुभयो । प्रतिष्ठानले यसअघि पनि विभिन्न विद्यालयमा सम्मान तथा पुरस्कार वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष देवेन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानकी सल्लाहकार बुद्धमाया सुवेदी, कबिर मावि व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पुरी,प्रधानाध्यापक दुर्गा गौतम,ज्येष्ठ नागरिक समाजका अध्यक्ष सदानन्द सुवेदी लगायत सहभागी हुनुहुन्थ्यो । प्रतिष्ठानका सदस्य सियोम सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्