विराटनगरमा ‘विराट एक्स्पो’ हुने : नोबेलको मुख्य प्रायोजन


विराटनगर, २९ पुस ।  नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा फागुन पहिलो साताबाट विराटनगरमा ‘विराट एक्स्पो’ हुने भएको छ । उद्योग सङ्गठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म हुन लागेको एक्स्पोलाई नोबेलले मुख्य प्रायोजन गर्ने भएको हो ।

एक्स्पोलाई सेन्चुरी मसलाले सह–प्रायोजन गरेको छ भने अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मूल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित ९ दिने प्रदर्शनी हुन लागेको हो ।

उद्योग, व्यवसाय क्षेत्रका उत्पादनको प्रवर्द्धनमा टेवा पुर्‍याउँदै उत्पादक र उपभोक्ताबिचको व्यावसायिक सम्बन्ध विकासका लागि एक्स्पो गर्न लागिएको उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पोमा औद्योगिक तथा कृषि उत्पादन, कृषि औजार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा, अटोमोवाईल्स तथा पार्टस, हस्तकलाका सामाग्री, विद्युतीय तथा घरायसी सामाग्री, गार्मेन्ट, खाद्य पदार्थ, शिक्षा, स्वास्थ्य र बैङ्क तथा वित्तीय संस्थाका ३ सय १५ स्टल रहनेछन् ।

जसमध्ये भारत, चीन, भुटान, पाकिस्तान र बंगलादेशका ६० स्टल बुक भएका छन् । एक्स्पोमा नेपालका विभिन्न जिल्लासँगै भारत, चीन, भुटान, बङ्गलादेश, पाकिस्तान लगायत देशका ३ लाख अवलोकनकर्ता भित्र्याएर १ अर्वको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष घिमिरेले बताए ।

पूर्वी नेपालको औद्योगिकीकरण टेवा पुर्‍याउन दुई दशक अघिदेखि उद्योग सङ्गठनले विभिन्न नाममा प्रदर्शनी गर्दै आएको छ । यसअघि २०५३ मा कोसी महोत्सव, २०५७ मा औद्योगिक व्यापार मेला, २०६३ मा कृषि तथा औद्योगिक प्रदर्शनी, २०६६ र २०७३ मा विराट एक्स्पो गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्