सोनाम ल्होसारको अवसरमा बागमती प्रदेशमा बिदा दिने


हेटौडा, २८ पुस ।  तामाङ समुदायको चाड सोनाम ल्होसारमा बागमती प्रदेशले बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघ १० गते सोनाम ल्होसारको अवसरमा बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्मरकटेलले सार्वजनिक बिदासहित बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक वर्ष ०७७–७८ को लागि सङ्घीय विशेष अनुदान सम्बन्धमा, सङ्घीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपूरक अनुदानको दोस्रो चरणका योजनाहरू स्वीकृत गर्ने निर्णय गरेको बताएका छन् ।

यसै गरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । प्रदेशको नामकरण र राजधानीको टुंगो लगाएपछि बागमतीको यो पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रतिक्रिया दिनुहोस्