शव बिना मुचुल्का उठाएको भन्दै प्रहरी निरीक्षक यादवलाई जिल्ला तानियो


जनकपुर, २७ पुस ।  कुटपिटपछि टिपरले किचेर हत्या गरिएका दिलीप महत्तोको शव बिना मुचुल्का उठाएको भन्दै प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला तानिएका छन् ।

जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोको शव मुचुल्का विनै उठाएपछि विवादमा तानिएका इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रमुख प्रहरी निरीक्षक यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषा तानिएको हो ।

इन्स्पेक्टर यादव ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिनकुमार महतोसँग मिलेर मुचुल्का विनै शव उठाउने कार्य गरेको स्थानीयहरूले आरोप लगाउँदै आएका छन् त्यसपछि विवादित बनेका उनलाई आइतबार जिल्ला तानिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले भने विवादका कारण भन्दा पनि आन्तरिक कारणले उनलाई जिल्ला बोलाइएको बताएका छन् ।

इन्स्पेक्टर यादव मोरङको विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको प्रमुख हुँदा पनि तस्करसँग ‘सेटिङ’ मिलाएर सीमावर्ती क्षेत्रमा तस्की चलाएको आरोपमा कारबाही भोगिसकेका व्यक्ति हुन् । उनी राजपा नेता राजकिशोर यादवका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्