मनाङ, १९ पुस । हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपातका कारण सडक अवरुद्ध भएको छ ।
खानेपानीको अभाव सिर्जना भएको छ भने हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो ।
बुधवार बेलुकीदेखि सुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः सुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकार बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताएका छन् ।
सडकभरि दुई तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन , अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बाध्य भएको पौडेलले बताए ।
जिल्लाको तल्लो भाग ताचैगाउँ, नाँचैगाउँ, ओडारगाउँ र धारापानीमा समेत बाक्लो हिमपात परेको छ ।