लालभित्तीका राई दम्पतीले पाए उपचार : छोरा आएपछि अप्रेसन गरिने


केशु विरही –

बेलबारी, मोरङ /  लामो समयदेखि दम तथा अन्य रोगबाट थलिएका बेलबारीका राई दम्पतीले स्थानीयको पहलमा उपचार पाएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं २, लालभित्ती, ज्योति टोलका ७४ वर्षीय वीरबहादुर राई र उनकी ६८ वर्षीय श्रीमती विगत लामो समयदेखि थलिएका थिए । राई दम्पतीलाई सोमबार पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा प्राथमिक उपचार पश्चात् घरमै ल्याइएको छ ।

अहिले प्राथमिक उपचार पश्चात् घर ल्याइएको, उनीहरूका कान्छा छोरा रोजगारीका सिलसिलामा भारत गएका र छोरा आएपछि अप्रेसनका लागि लैजाने गरी आज उपचार गरेर ल्याएको उपचारमा संलग्न स्थानीय जनप्रतिनिधि समेत रहेकी खिना थापाले बताइन ।

उनीहरूको उपचारमाका लागि स्थानीय बागदेवी सामुदायिक वनले रु ५ हजार, बेलबारी नगरपालिका २ नं वाड कार्यालयले रु ५ हजार र वाड नं २ सचिव तुलसी कट्टेलले रु २५ सय सहयोग उपलब्ध गराएका थिए । दमको कारणले लामो समयदेखि थलिएको, राती सुत्न समेत नसकेको थाहा पाए पछि स्थानीय बागदेवी सामुदायिक वनले निशूल्क रूपमा दाउरा समेत उपलब्ध गराएको छ ।

७४ वर्षीय राईलाई दम रोगले रातभरि सुत्न सकेका थिएनन् । सुत्न नसकेर उनी आगो तापेरै रात बिताउँदै आएका छन् । उता ६८ वर्षीय श्रीमतीको हालत पनि उस्तै छ । उनी पनि धेरै सालदेखि पेट दुख्ने रोगबाट पीडित थिइन । पैसाको अभावमा राम्ररी उपचार हुन नसक्दा उनले पीडा सधैँ पालेर बसिरहनु परेको थियो ।

भोजपुरमा जन्म भएका राई २०६६ सालदेखि बेलबारी २ लालभित्तीमा स्थायी रूपमा बस्दै आएका छन् । राई दम्पतीको आफ्नो जग्गा जमिन भने छैन । ऐलानी जग्गामा जस्ताको छाना हालेर बसेका छन् ।

राईका जेठो छोरो अपाङ्ग छन् भने कमाइको सिलसिलामा कान्छो छोरा भारत गएका छन् । लेखपढ नभएकाले श्रीमानको कमाई राम्रो नभएकोले आमा बुबाको उपचार गर्न नसकिएको वृद्ध वीरबहादुरकी बुहारी सीता राई बताऊ छिन ।

राई दम्पतीको अवस्था एकदमै दयनीय रहेकोले, जेठा छोरा बुहारी दुवै जना अपाङ्ग रहेको कान्छो छोरो पनि कमाइको सिलसिलामा भारत गएकोले आफूहरूले नै लागेर उनीहरूको उपचारमा लाग्नु परेको स्थानीय प्रकाश चौहानको मत रहेको छ ।

उता बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य खिना थापाले यसअघि नै राई दम्पतीको उपचारका लागि नगरपालिकामा प्रस्ताव लैजाने बताइसकेकी छिन ।

प्रतिक्रिया दिनुहोस्