नोबेलका विद्यार्थी र कर्मचारीले विपन्न परिवारलाई न्यानो कपडा प्रदान


विराटनगर, १५पुस ।  नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका विद्यार्थी र कर्मचारीहरूले शितलहर प्रभावित विपन्न परिवारलाई न्यानो कपडा प्रदान गरेका छन् । रेडियोग्राफी दोस्रो वर्षमा अध्ययनरत बिद्यार्थीहरुको अगुवाइमा ३१ विपन्न परिवारलाई न्यानो कपडा प्रदान गरिएको हो ।

विराटनगर–१ स्थित सिंघिया खोला आसपास क्षेत्रमा बसोबास गर्ने सुकुम्वासी परिवार र विराटनगर–३ ईक्राहीका शितलहर प्रभावित गरिब तथा विपन्न परिवारलाई सिरक र म्याट प्रदान गरिएको रेडियोग्राफी दोस्रो वर्षमा अध्ययनरत युनिका न्यौपानेले जानकारी दिइन् । जाडो याममा न्यानो कपडा नहुँदा कठ्याङ्ग्रिएर बस्न बाध्य वृद्ध–बृद्धा र बालबालिकालाई लक्षित गरी कपडा प्रदान गरिएको न्यौपानेले बताइन् । ‘धनिले त जाडो छल्न न्यानो कपडा लगाउन सक्छन् । तर, गरिबले न्यानो कपडा नहुँदा यस्तो जाडोमा कठ्याङ्ग्रिएर बसेको देखेर सहयोग गरेका हौँ ।’ उनले भनिन् ।

नोबेल शिक्षण अस्पताल परिसरमा कार्यक्रम गरी करिब ७० हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माकी आमा होमादेवी न्यौपाने, कलेजका शिक्षक कमल पराजुली, दुर्गा चौलागाई, सुस्वास्थ्य फार्मेसीका सञ्चालक अनिल शर्मा, नोबेल फार्मेसीका विपिन काफ्ले लगायतले सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै बृद्धबृद्धाहरुले जाडोमा कठ्यांगिएर बसिरहेको अवस्थामा न्यानो कपडा पाउँदा धेरै राहत मिलेको प्रतिक्रिया दिएका छन् । गरिब तथा विपन्न परिवारलाई कार्यक्रममा भोजनसमेत गराइएको थियो । अत्यधिक चिसो र सितलहरका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा नोबेलका विद्यार्थी र कर्मचारीहरूले स्वतःस्फूर्त रूपमा रकम सङ्कलन गरी शितलहर प्रभावितलाई सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्