बेलबारीमा तमु ल्होसारको अवसरमा वाड स्तरीय भलिबल सुरु


बेलबारी , १३ पुस । तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलवारीको आयोजनामा भलिबल खेल आज (आइतबार)बाट सुरु भएको छ । नजिकिँदै गरेको तमु ल्होसारको अवसरमा वाड स्तरीय भलिबलको आयोजना गरेका हुन ।

आयोजकका अनुसार नजिकिँदै गरेको तमु ल्होसारको अवसरमा सुरु भएको भलिबल पुस १५ गते ल्होसारको दिन फाइनल हुने छ । आज सुरु भएको पहिलो दिनको खेलमा १० टिमले सेमिफाइनलको लागि प्रतिस्पर्धा गरेका थिए भने ५ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आजको पहिलो खेल वाड नं. ११ र १० बिच भएको थियो । वाड ११ ले पहिलो सेटमा २५–२० स्कोरको अन्तरले र दोस्रो सेटमा पनि २२–२१ स्कोरको अन्तरले वाड नं. १० लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा ३ र ६ बिच भएको थियो । दोस्रो खेलमा पनि सोझो सेटमा वाड नं. ६ लाई हराउँदै वाड नं. ३ सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो र दोस्रो सेटमा नै वाड नं. ३ ले २५–१३, २५–१३ स्कोरको अन्तरले वाड नं. ६ लाई पराजित गरेको छ ।

तेस्रो खेल वाड नं. ५ र ८ बिच भएको थियो । पहिलो सेटमा वाड नं. ५ ले २५–२० स्कोरको अन्तरले र दोस्रो सेटमा २५–१३ को अन्तरले वाड नं. ८ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

चौथो खेलमा ए समूहको वाड नं. ४ का टिमले पहिलो सेटमा २५–१५ स्कोरको अन्तरले र दोस्रो सेटमा २५–१३ स्कोरको अन्तरले वाड नं. ९ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजको अन्तिम खेल भने समूह बि को वाड नं. ४ र वाड नं. ८ बिच भएको थियो । पहिलो सेटमा वाड नं. ८ ले वाड नं. ४ लाई २५–१८ स्कोरको अन्तरले पछि पारेको थियो भने दोस्रो सेटमा पनि २५–१९ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलवारीका रञ्जित गुरुङका अनुसार भोलि सेमिफाइनल खेल हुने छ भने पुस १५ गते फाइनल हुने बताएका छन् । तमु ल्होसारको तयारी हर्षोल्लासको साथै भइरहेको अध्यक्ष रञ्जित गुरुङले जनाएका छन् ।

भलिबल उद्घाटन कार्यक्रम तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद्, जिल्ला मोरङका अध्यक्ष मनकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्