कबिर माध्यमिक विद्यालयको ३४ औ वार्षिक उत्सव सम्पन्न


बेलबारी, १० पुस  / बेलबारी २ स्थित कबिर माध्यमिक विद्यालयको ३४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । साङ्गीतिक कार्यक्रमहरू सहित विद्यालयको प्रांगणमा बुधवार वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिक उत्सव कार्यक्रममा प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कबिर माविमा दृष्टिविहीन विद्यार्थीहरूको स्रोत कक्षा समेत सञ्चालन भइरहेको छ । वि.सं. २०६१ सालबाट दृष्टिविहीन स्रोत कक्षा सञ्चालन भएको हो । प्रावि तहका कक्षा सहित सुरु भएको विद्यालयले २०७० सालदेखि विद्यार्थीलाई एस एल सी परीक्षामा सहभागी गराउँदै आएको छ ।

प्रतिवेदन प्रस्तुत गर्दै प्रअ गौतमले विद्यालयमा अहिले पनि पर्याप्त कक्षाकोठा नभएको, मावि तहको दरबन्दी नभएको, खेलमैदान कम्पाउन्ड सानो भएको जस्ता समस्याहरू रहेको जानकारी गराएका छन् । विद्यालयको नाममा अहिलेसम्म जग्गा नरहेको र अहिले भोगचलन भइरहेको कबिर मन्दिरको जग्गा मन्दिरले विद्यालयलाई रजिस्ट्रेशन पास गरिदिने सम्झौता भएकाले सो सम्झौता कार्यान्वयनमा विद्यालयले जोड दिएको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक उत्सवको अवसरमा शिक्षकहरू सीता प्रधान र विष्णुकुमारी खतिवडा दंगाल, पूर्व शिक्षक शकुन्तला श्रेष्ठ र सुषमा कोइराला तथा विद्यालयमा सरस्वती मन्दिर निर्माण गरिदिने खगेन्द्रप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूले जनचेतना मूलक नाटक, गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतम र बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा सञ्चालक समितिका पुर्वअध्यक्षहरु, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि तथा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पुरीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन भने शिक्षक गणेशप्रसाद दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्