काठमाडौँ, ७ पुस । राष्ट्रियसभाको आजको बैठकमा सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
विशेष समयमा सांसदहरूले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिएका छन् ।
नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गर्नेको साथै नेपाल–भारत सीमा विवाद समाधान गर्न सरकारले लिएको पहलकदमी स्वागतयोग्य भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले बताएका छन् ।
नेपाली भूमिमाथि अतिक्रमण गरेको भन्दै उच्च राजनीतिक स्तरको वार्ता टोली बनाएर भारतसँग छलफल गर्नको साथै सीमा विवाद समाधानका सन्दर्भमा भइरहेको प्रयासबारे संसद्लाई जानकारी गराउन नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले माग गरेका छन् ।
गोकर्ण र दरबारमार्ग्स्थित नेपाल ट्रस्टको जग्गासम्बन्धी विवादबारे स्पष्ट पार्न उनले सरकारलाई आग्रह गरेका छन् ।