बेलबारीमा नेकपाद्वारा ‘श्रमसँग पार्टी’ सरसफाइ अभियान सुरु


बेलबारी , ६ पुस ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर कमिटी बेलबारीले ‘श्रमसँग पार्टी’ नाम दिएर सार्वजनिक स्थलको सरसफाइ अभियान थालेको छ ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सार्वजनिक स्थलहरूको सरसफाइ गर्न थालेको नेकपा बेलबारीले जनाएको छ ।

प्रत्येक महिना दुई घण्टा सरसफाइ गर्ने गरी, बेलबारी बजारमा रहेको कृषि बजारको सरसफाइबाट सुरु गरेको छ । सरसफाइ कार्यक्रममा नगर स्तरीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

पार्टीका कार्यकर्तालाई श्रमसँग जोड्दै पर्यटन वर्षलाई सफल बनाउन सरसफाइ गरिएको नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुबेदीले बताएका छन् ।

पूर्व नेकपा एमाले र नेकपा माओवादी एकीकरण भएपछि लामो समय सम्म स्थानीय कमिटीहरू नबन्दा चलायमान हुन नसेको नेकपाले पछिल्लो समय विभिन्न गतिविधिहरू गरिरहेको छ ।

सार्वजनिक स्थलको सरसफाइ गर्ने कामलाई स्थानीयहरूले सकारात्मक रूपमा लिँदै यसको निरन्तरताको आसा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्