दुई सातामा तीन हजार बिरामीको निःशुल्क उपचार : नोबेल स्वास्थ्य शिविर


विराटनगर, ६ पुस । नोबेल शिक्षण अस्पतालले विगत दुई साताको अवधिमा दुई जिल्लाका चार स्थानमा सञ्चालन गरेर निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

 

स्थानीय संघसस्थासँग समन्वय गरेर उदयपुरको बेलका नगरपालिकास्थित रामपुर, मोरङको दाम्राभिट्टा, विराटचोक र पथरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । चार स्थानमा सञ्चालित शिविरबाट ३ हजार २ सय ३६ बिरामीको निःशुल्क उपचार गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार उदयपुरको बेलका नगरपालिकासँग सहकार्य गरेर रामपुरमा सञ्चालित शिविरबाट १ हजार १ सय ५५ जना बिरामीले निःशुल्क स्वास्थ्य उपचार पाएका छन् । जसमा १ सय ५० जनाको भिडियो एक्सरे, २ सय १३ जनाको ईसीजी र २ सय ११ जनाको रक्त परीक्षण गरिएको छ ।

त्यस्तै, मोरङको दाम्राभिट्टा स्थित दाम्राभिट्टा सेकेण्डरी इङिलस स्कुलसँग सहकार्य गरेर सञ्चालित शिविरमा १ सय ७ जनाको भिडियो एक्सरे, १ सय ५३ जनाको ईसीजी र २ सय १३ जनाको रक्त परीक्षण गरिएको छ ।

त्यस्तैगरी मोरङको पथरीमा सञ्चालित शिविरमा ४ सय ९५ जना र विराटचोकमा भएको शिविरमा ४ सय ५३ जनाले निःशुल्क उपचार पाएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यले नोबेलले पूर्वी नेपालका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्