बारा, ५ पुस । प्रहरीले बारामा जलाउँदै गरेको एक महिलाको शवलाई नियन्त्रणमा लिएको छ । शुक्रवार बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३८ वर्षीय मालतीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन् ।
श्रीमान् र श्रीमतीबिच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएको उपरीक्षक खनालले बताए । उपरीक्षक खनालका अनुसार सोही पाएको सूचना बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले श्रीमतीको शवलाई जलाउँदै गरेको खुलेपछि शव नियन्त्रणमा लिएको हो ।
माइती पक्षले नै घटना बारे जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको उपरीक्षक खनालले जनाए । मृतकको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको छ ।
शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासु–ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिएका छन् ।