पुस २० गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुने


काठमाडौँ, २ पुस ।  पुस १७ गते मतदाता नामावली प्रकाशन गरिने र २० गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

निर्वाचनको मतदातामा ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य रहनेछन् । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।

दाबी विरोधलगायतका प्रक्रिया सकिए पछि २५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने र त्यही दिन निर्वाचन चिन्ह प्रदान गरिनेछ भने मतदान माघ ९ गते हुनेछ ।

१९ जना सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँन्दैछ । राष्ट्रियसभाका नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका एक जना र सरकारबाट मनोनीत एकजनाको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँन्दैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।

यस पटक काङ्ग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईँसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँन्दैछ भने नेकपाबाट हरिचरण सिवाकोटी, बलराम बास्कोटा, मिना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँन्दैछ ।

त्यस्तै राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रति पासवानको पनि २ वर्षको कार्यकाल सकिँन्दैछ । यस्तै, सरकारबाट मनोनीत भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्