विद्युत् उत्पादन घट्दै


लमजुङ, १ पुस । बेंसीशहर नगरपालिका–१ दलालमा रहेको मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन ७० मेगावाट बाट ४५ मेगावाटमा झरेपछि विद्युत् उत्पादन घटेको छ ।

मर्स्याङ्दी जलविद्युत आयोजनामा ३५–३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको आयोजनाका प्रमुख शिवकुमार शाहले बताएका छन् ।

सन् २००८ मा २७ अर्व २० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको जलविद्युत ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन समेत घट्न थालेको आयोजनाले बताएको छ ।

मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा आयोजनास्थल रहेको सो आयोजना करिब १६ अर्व रुपैयाँमा निर्माण सम्पन्न भएको छ ।

साथै ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट समेत बिजुली उत्पादन कम हुने क्रममा भएकोले राष्ट्रिय प्रसारण लाइनमा समस्या आएको छ ।

प्रतिक्रिया दिनुहोस्