पर्सामा एकै रात आठ स्थानमा आगलागी


वीरगन्ज, १ पुस । पर्साको पोखरिया नगरपालिकामा सोमबार राति वडा नं ४ र ५ का ८ ठाउँमा आगलागी भएको छ ।

स्थानीयले राति मोटरसाइकल गुडेको आवाज सुनेको तर कसरी एकै पटक आगलागी भएकोमा स्थानीय बासिन्दा आतंकित भएको छ । स्थानीयले ११ ठाउँमा आगलागी भएको दाबी गरे पनि प्रहरीले ८ ठाउँमा आगलागी भएको पुष्टि गरेको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन ।सडक छेउमा राखिएको ४ वटा परालको कुन्यु, साधु बस्नेसहित दुईवटा छाप्रो, भरत सिंहको छाप्रो र प्रेम रामको घुम्ती पसल गरी ८ ठाउँमा आगलागीमा पोखरीया नगरपालिका, वीरगन्ज महानगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरी मिलेर आगलागी मध्यरातमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताएको छ ।

सडक छेउमा किसानले पराल थुपारेर राखेका छन्, ४ ठाउँमा त्यसैमा आगजनी गरिएको छ । २ वटा छाप्रो, एउटा फुसको घर जलेको हो । त्यसमा खासै क्षति भएको छैन । बढी क्षति पान पसलमा भएको प्रहरी निरीक्षक सिंहले बताए । पसलमा किराना समान, फ्रिज, गुट्खालगायत रहेको दाबी सञ्चालकले गरेका छन् ।

आगलागीबाट १ देखि डेढ लाखसम्म क्षति भएको अनुमान गरिएको छ भने कारण पत्ता लाग्न अनुसन्धान भइरहेको निरीक्षक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्