सुर्खेत, ३० मङ्सिर । जडीबुटी सङ्कलन गर्न गएका तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएको छ ।
सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने गएदेखि चार दिनसम्म सम्पर्कमा हुनु नसकेपछि १२ जनाको अवस्था अज्ञात रहेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले बताएको छ । ढिपुगाउँबाट पाटन पुग्न दुई दिन लाग्छ ।
बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेको छ ।
पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बताए । तिला गाउँपालिका–६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको मृत्यु भएको र चार गोठाला सकुशल फर्केको छ ।
भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ भने स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेको छ ।