काठमाडौँ, ३० मङ्सिर / तारा गाउँ विकास समितिले बक्यौता भाडा बुझाउन ४ वटा कम्पनीहरूलाई सात दिने अल्टिमेटम दिएको छ । लामो समयदेखि भाडा नतिर्ने कम्पनीहरूलाई पत्र लेखेर सात दिनभित्र बक्यौता बुझाउन अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको हो ।
अध्यक्ष प्रह्लाद न्यौपानेको निर्देशनपछि तारा गाउँ विकास समितिले सात दिने अल्टिमेटम सहित १९ मङ्सिर २०७६ मा पत्र काटेको हो । तारा गाउँ विकास समितिका भवनहरू लिजमा प्रयोग गर्दै आएका काठमाडौँको नयाँ सडक स्थित श्री सुलक्स सेन्टर र श्री पिकी इन्टरनेशनल, काठमाडौँ बालुवाटारका श्री चाङ्गेस्थान सप्लायर्स प्रा.लि, श्री चाङ्गेस्थान सप्लायर्स प्रा.लि र नयाँ सडककै श्री अजन्ता इन्टरप्राइजेजलाई पत्र लेखेर बक्यौता बुझाउन पत्र थमाइएको छ ।
अध्यक्ष न्यौपानेका अनुसार नयाँ सडक स्थित अजन्ता इन्टरप्राइजेजले समितिलाई ८ लाख ४८ हजार दुई सय नब्बे बुझाउन बाँकी छ । अजन्ता इन्टरप्राइजेजले पटक पटक तागेता गर्दा पनि बक्यौता बुझाएको छैन । यसै गरी काठमाडौँ महानगरपालिका–२२ स्थित नयाँ सडकको रामागृह भवनको ७८ लाख ५६ हजार, दुई सय ५० रुपियाँ चाङ्गेस्थान सप्लायर्स प्रा.लिले बुझाएको छैन ।
यसै गरी श्री चाङ्गेस्थान सप्लायर्स प्रा.लिलाई नै सम्झौता अनुसारको भाडा बुझाउन पत्र काटेको छ । तारा गाउँ विकास समिति र सप्लायर्सबीच गत ११ फागुन २०७४ मा भएको भाडा सम्बन्धी करार सम्झौता भएको थियो । श्री चाङ्गेस्थान सप्लायर्स प्रा.लिले सम्झौता अनुसार संरचना निर्माण गरेर व्यावसायिक प्रयोग गरिरहेको छ । तर, अहिलेसम्म भाडा भने बुझाएको छैन । श्री चाङ्गेस्थान सप्लायर्स प्रा.लिले पहिलो र दोस्रो वर्ष (निर्माण अवधि) लागि वार्षिक ९५ लाख ५ हजार वार्षिक भाडा बुझाउने सम्झौता छ । तर, उसले आजसम्म बुझाएको छैन । बरु, उल्टै भाडा मिनाहाको लागि विभिन्न शक्ति केन्द्र धाउने गरेको छन् ।
यसै गरी पिकी ईन्टरनेशनल कम्पनीले १२ लाख ६७ हजार चास सय बक्यौता बुझाउन बाँकी छ । यसै गरी श्री सुलक्स सेन्टरले १४ लाख १३ हजार ५ सय बुझाउन बाँकी रहेको छ । तोकिएको समयमा बक्यौता भाडा नबुझाए कानुन अनुसार कारबाही गरिने अध्यक्ष न्यौपानेले बताए । उनले भने, ‘अब कुनै पनि बहनाबाजी चल्दैन, राज्यलाई बुझाउनु पर्ने भाडा नबुझाए कारबाही हुन्छ ।’
निजी कम्पनीहरूले लामो समयदेखि बक्यौता भाडा नबुझाए पनि यसअघि तारा गाउँ विकास समितिले भाडा उठाउन तदारुकता देखाएको थिएन । प्रह्लाद न्यौपाने तारा गाउँ विकास समितिको अध्यक्ष भएर आए लगत्तै समितिले बक्यौता उठाउन सुरु गरेको छ । सरकारले गत ५ मङ्सिर २०७६ मा तारा गाउँ विकास समितिको अध्यक्षमा न्यौपानेलाई नियुक्त गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट न्यौपानेलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो ।