काठमाडौँ, ३० मङ्सिर । चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएको छ । आइतबार राति भट्टराईको ५४ वर्षको उमेरमा निधन भएको हो ।
काठमाडौँको चाबहिल स्थित ओम अस्पताल लैजाँदै गर्दा राति करिब साढे १० बजे उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । हृदयाघात भएको अनुमान गरिएता पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने अस्पतालले जनाएको छ ।
भट्टराईले दर्जनौँ चलचित्रहरू तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरू निर्माण गरेका थिए ।
करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराईले केही राम्रा कामको सुरुवात गरेको चलचित्रकर्मीहरु बताउँछन् । चलचित्र विकास बोर्डमा रहेर यस क्षेत्रका लागि केही गर्छु भन्ने भट्टराईको विश्वास अधुरो बनेको छ ।