काठमाडौँ, २६ मङ्सिर / नेपाली काँग्रेस भित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बिच विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले एक पक्षीय रूपमा पार्टीको विभागको सङ्ख्या बढाउने प्रस्ताव राखेपछि काँग्रेस भित्र विवाद बढेको हो ।
बिहीबार बोलाइएको केन्द्रीय समितिको बैठक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेका छन् । संस्थापन पक्षले २८ विभागको सङ्ख्या बढाएर ४५ बनाउने तयारी गरेपछि पौडेल पक्ष रुष्ट छ । संस्थापन पक्ष पेलेरै भए पनि ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा छ ।
वरिष्ठ नेता बिहीबार पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा भने गएनन् । यस्तै महामन्त्री शशाङ्क कोइराला तथा पूर्व महामन्त्री कृष्ण सिटौला पनि बैठकमा उपस्थित भएनन् ।
विधानतः आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, काँग्रेसको बैठक पुरानै महाधिवेशनको म्यान्डेटअनुसार भइसक्नुपर्ने विभाग गठन तथा संरचनालाई पूर्णता दिन सकेको छैन। आगामी महाधिवेशनलाई केन्द्रित गरेर संस्थापन पक्षले विभागको सङ्ख्या बढाउन लागेपछि विवाद चर्किएको छ ।
काँग्रेसमा केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन्। काँग्रेस विधानमा ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश तहका समितिको व्यवस्था छ। तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिबाहेक अरू संरचना बन्न सकेको छैन ।