मोरङको क्षेत्र नं. ३ मा काँग्रेसले ‘क्लिन स्वीप’ गर्ने डा.शर्माको दाबी


मोरङ, २६ मङ्सिर ।  नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी निर्वाचनमा मोरङको क्षेत्र नं.३ मा काँग्रेसले ‘क्लिन स्वीप’ गर्ने दाबी गरेका छन् । जी.पी. कोइराला अध्ययन केन्द्रले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् ।

कम्युनिस्टको गढको रूपमा चिनिने ३ नम्बर क्षेत्रमा अव काँग्रेसले वडादेखि प्रतिनिधिसभासम्म विजय प्राप्त गर्ने नेता शर्माको दाबी छ । अहिले काँग्रेसलाई मलजल गरेर जनप्रिय बनाउने काम भइरहेको भन्दै डा.शर्माले अव जनताको मन जितेर विजयको झन्डा फहराउने दिन नजिकिँदै गएको बताए । ‘दुई वर्ष बितिसक्यो, अव तीन वर्ष बाँकी छ ।’ उनले भने ‘जनताको प्रतीक्षाको घडी नजिकिँदै छ, अव काँग्रेसले ३ नम्बर क्षेत्रमा क्लिन स्वीप गरेर देखाउँछ ।’

चाइनिज बाँसको उदाहरण दिदैं डा.शर्माले भने ‘पाँच वर्षसम्म मजलज गरेपछि मात्र चाइनिज बेम्बो बाँस उम्रन्छ र उम्रिएको पाँच हप्तामै ९० फिट ह्वात्तै बढ्छ । यसरी नै अव ३ नम्बर क्षेत्रमा काँग्रेसको मलजल पुरा हुँदैछ, अव विजयको झन्डा फहराउने दिन आउँदै छन् ।’

नेकपाका नेताको झुटो आश्वासन कै कारण कम्युनिस्टको लालकिल्ला तोडिँदै गएको उनले बताए । सुकुम्वासी समस्या समाधान गर्ने झुटो आश्वासन बढेर जनताको मत प्राप्त गरेर विजयी बनेका मन्त्री भानुभक्त ढकालले जनतालाई झुक्क्याएको शर्माको आरोप छ ।

गरिब, विपन्न तथा असहायलाई निःशुल्क उपचार गर्दा नेकपाका नेतालाई टाउको दुखाई भएको भन्दै उनले अरूको इस्र्या नगरी जनताको सेवा गरेर देखाउन मन्त्री ढकाललाई चुनौती पनि दिए । हामीले दुखी गरिबलाई सेवा गर्दा नेकपाका नेताहरू ‘एम्बुलेन्स आतङ्क’ मच्चायो भन्न थाल्नु भएको छ ।’ नेता शर्माले भने ‘तपाइहरू शक्तिमा हुनुहुन्छ, सरकारी सम्पत्ति प्रयोग गरेर जनताको सेवा गर्नुस्, हाम्रो ईस्र्या गर्नु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्